
नेपालगन्ज : एसियन गेम्सको १९ औं संस्करणमा नेपालकी एरिका गुरुङले कराँतेबाट ऐतिहासिक रजत पदक हात पारेकी छिन् ।
शनिबार ६८ केजीको तौल समूहको फाइनलमा एरिका काजकिस्तानकी बेरुल्टसेवा सोफियासँग ३–० ले पराजित भईन् ।

यससँगै नेपालको १९ औं एसियाडमा दोस्रो पदक पक्का भएको छ । यसअघि महिला कबड्डीले कास्य पदक जितेको थियो ।
समग्र एसियाड इतिहासमा यो नेपालको २६ औं पदक हो । यसअघि नेपालले १८ औं संस्करणसम्म आइपुग्दा २ रजत र २२ कास्यसहित २४ पदक जितेको थियो । यसपटक नेपालले १ रजत र १ कास्य पक्का गरिसकेको छ । अब करातेमै ५० केजी समूहमा सविना श्रेष्ठले प्रतिस्पर्धा गर्न बाँकी छ ।
नेपालले १७ वर्षपछि एसियाडको एकै संस्करणमा दुई पदक जितेको हो । २०१० र २०१४ मा कास्यमा सिमित नेपाली टोली २०१८ मा एकल रजत जितेर फर्केको थियो ।
