
नेपालगन्ज: चार देश सम्मिलित महिला ट्वान्टी –२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत हङकङविरुद्धको पहिलो खेलमा नेपाल विजयी भएको छ ।
मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा हङकङले नेपाललाई जितका लागि ८५ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य नेपालले १५ दशमलव पाँच ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि सम्झनाकुमारी खड्काले अविजित ३६ रन बनाइन् । उनले ३६ बल खेल्ने क्रममा पाँच चौकासमेत हिर्काइन् । यस्तै पूजा महतोले १६, कप्तान रुबिना क्षेत्री बेलबासेले १० रनको योगदान दिइन् ।

यसअघि नेपाली टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी थिइन् । हङकङले १९ दशमलव एक ओभरमा सबै विकेटको क्षतिमा ८४ रनमा बनायो । हङकङका लागि का यिङ चानले ३४ तथा शिङ यान दोरोथिया चानले १६ रन बनाइन ।
बलिङतर्फ नेपालका लागि सीता रानामगर एक्लैले पाँच विकेट लिइन् । उनले चार ओभर बलिङ गर्दै मात्र १६ रन खर्चेकी थिइन् । सीता प्लेयर अफ द म्याच भइन् । यस्तै इन्दु बर्माले दुई तथा कविता कुँवर, पूजा महतो र रुबिना क्षेत्री बेलबासेले एक/एक विकेट लिए ।
