
नेपालगन्ज : भदौ १६ देखि सुरु हुने नेकपा (माओवादी केन्द्र)को ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानको तयारी बाँकेमा पनि तीव्र रूपमा अगाडि बढेको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति बाँकेकाे पाँचौ पूर्ण बैठक नेपालगन्जमा सुरु भएकाे माओवादी केन्द्र बाँके जिल्ला संयाेजक नरेन्द्र पाण्डे (जेम्स )ले जानकारी दिनुभएको छ ।
केन्द्रीय समिति बैठकबाट अध्यक्ष प्रचण्डले प्रस्ताव गरेको प्रतिवेदनको आधारमा प्रदेशको सापेक्षतामा अभियानको विस्तृत कार्ययोजनामा निम्न विषय समावेश गरिएको छः

१. सबै तहका कमिटीका बैठक, प्रशिक्षण, स्कुलिङ संचालन गर्ने ।
२. पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्ने ।
३. वडाभित्र उत्पीडित वर्ग, समुदाय र जनवर्गका भेला सम्मेलन गर्ने ।
४. सरकारले अघि सारेको सुशासन, समृद्धि र सामाजिक न्यायसँग सम्बन्धित कामलाई आम जनताबीच पुर्याउने, सुझाव संकलन गर्ने र समर्थनका लागि अपिल गर्ने ।
५. नेपालको राजनैतिक परिवर्तनका श्रृंखला जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया, संविधान निर्माण, संघीयता कार्यन्वयनबाट प्राप्त अधिकारको महत्त्व र त्यसका लागि नेतृत्वको योगदानलाई स्थापित गर्ने ।
६. आठौं महाधिवेशनद्वारा पारित ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ सम्बन्धी रणनीति र कार्यनीतिलाई पार्टीपंक्ति र जनसमुदायबीच पुर्याउने ।
७. आत्मनिर्भर आर्थिक नीति, प्राकृतिक स्रोतहरु जल, जंगल, जमिनको व्यवस्थापनसम्बन्धी नीति, कृषि, उद्योग तथा वाणिज्य, शिक्षा, स्वास्थ्यसम्बन्धी नीतिहरु सम्बन्धमा विभिन्न तहमा अन्तरक्रिया गर्ने ।
८. विधान सम्मेलनको तयारीलाई सहयोग पुग्ने गरी नयाँ ढंगको कम्युनिष्ट पार्टीबारे पार्टीपंक्तिमा व्यापक छलफल गर्ने ।
९. शैक्षिक सुधार, स्वरोजगार, उत्पादनसँग सम्बन्धित कार्यका लागि पेशाका आधारमा संगठित गर्ने ।
१०. सहकारीहरुलाई उत्पादनको काममा लगाउने, बाँझो जमिनको प्रयोग, बजारीकरण, मल, बीउको समस्या समाधान हुने कुरामा विश्वस्त पार्ने ।
११. पर्यटन, साना उद्योगसम्बन्धी कामको सम्भाव्यता अध्ययन गर्ने ।
१२. वडाको समग्र डाटा संकलन गर्ने ।
१३. आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनको अभियानलाई थप प्रभावकारी बनाउन ३ वटै तहका सरकारहरुले ठोस पहलकदमी बढाउने । यो अभियानलाई स्थानीय तहसम्म विस्तार गर्ने, पार्टीलाई भ्रष्टाचार विरोधी अभियन्ताको रुपमा स्थापित गर्ने ।
१४. पार्टीको नेतृत्वमा रहेका स्थानीय तहका सरकारहरुले नमूना योजना बनाई कार्यान्वयन गर्ने र ती योजनामा संघीय र प्रदेश सरकारहरुले विशेष सहयोग गर्ने ।
१५. शैक्षिक संस्था, स्वास्थ्य संस्था, स्थानीय सरकारलगायतका कार्यालयहरुको अनुगमन, निरीक्षण र अन्तरक्रिया गरी समस्या समाधानको पहल गर्ने ।
१६. सहरी क्षेत्रमा टोल सुधारका कामहरु, पानी–बिजुलीका समस्या, सार्वजनिक जग्गा अतिक्रमण, फोहोर व्यवस्थापन, जातीय–क्षेत्रीय मनोविज्ञान, आदिवासीहरुबीच अन्तरक्रिया, गुठी, मठ मन्दिर, खेल मैदान, मनोरञ्जनका क्षेत्रका समस्याबारे जानकारी लिने र समस्या समाधानको लागि पहल गर्ने ।
१७. प्राध्यापक, बुद्धिजीवी, सेवानिवृत्त कर्मचारी, मजदुर, व्यवसायी, बेरोजगार, प्राविधिक विषयका विद्यार्थीहरुको अलग अलग तथ्याङ्क संकलन गर्ने, उनीहरुसँग अन्तरक्रिया गर्ने, सरकारका कामहरुबारे सुझाव लिने र उनीहरुलाई संगठित गर्ने नयाँ उपायहरु खोज्ने ।
१८. विदेशमा रहेका श्रमिकहरुको स–साना इकाइहरु बनाउने, भर्चुअल बैठक गर्ने । उनीहरुसँग प्रत्यक्ष सम्पर्क गरी समस्या संकलन गर्ने र समाधानको पहल गर्ने ।
१९. प्रचारप्रसारको कामलाई व्यवस्थित गर्न डिजिटल प्लेटफर्म सञ्चालनको लागि केन्द्रदेखि वडासम्मको सञ्जाल तयार गर्ने । सामाजिक सञ्जालको अधिकतम सदुपयोग गर्ने । अभियानको प्रचार सामग्री, सरकारको काम कारबाही र उपलब्धिहरुको सन्देशमूलक सामग्री तयार गर्ने । पालिकाहरुले तीनमहिने अभियानको डकुमेन्ट्री बनाउने ।
२०. पार्टी बाहिरका विभिन्न संघ संस्था र व्यक्तित्वहरुबीच अन्तरक्रिया गर्ने ।
२१. सबै तहका सरकारसँग पार्टी, जवस/मोर्चा वा अन्य सरोकार समितिहरुको तर्फबाट जनविकास लगायतका विषयमा ज्ञापनपत्र/मागपत्र पेश गर्ने ।
बैठकको प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज हितमान शाक्यले गर्नुभएको छ भने रिपोर्टिङदेखि बैठक सुरुभएको अध्यक्ष पाण्डेले जानकारी दिनु भयो । पार्टीलाई रुपान्तरण गर्ने उद्देश्यका साथ सुरु भएको बैठकबाट सकारात्मक कुराको निर्णय हुने अपेक्षा गरिएको छ । बैठकमा स्थायी समिति सदस्य पुर्णाकुमारी सुवेदी, पुर्व मन्त्री महेश्वरजंग गहतराज लगायत केन्द्रिय सदस्य, प्रदेशका नेताहरूको सहभागिता रहेको छ ।
