
कप्तान लियोनल मेसीको उत्कृष्ट खेलप्रेरित इन्टर मियामीले ऐतिहासिक लिग कप उपाधि जितेको छ । आइतबार बिहान भएको खेलमा सानभिल एससीलाई पेनाल्टी सुटआउटमा हराउँदै इन्टर मियामीले पहिलो पटक लिग कपको उपाधि जितेको हो ।
नासभिल एससीको जेओडिस पार्क मैदानमा निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सम्पन्न भएपछि खेलको छिनोफाने पेनाल्टीमा भएको थियो ।

यसअघि मेसीले खेलको २३औं मिनेटमा अग्रता दिलाएका हुन् । बक्सबाहिर प्राप्त बललाई दोस्रो बारको टप कर्नरमा गोल गरेका थिए ।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको मियामीले दोस्रो हाफमा एक गोल बेहोर्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
यसैसिजन मियामीमा अनुबन्ध भएका मेसीले सात खेलमा १० गोल गरेका छन् ।
