
बाँकेको नेपालगन्ज गुलरिया सडक खण्ड अन्तरगत खजुरा बजारकाे १८ सय मिटर निर्माणाधिन सडकको ठेक्का सम्झौता सडक विभाग अन्तर्गत सडक डिभिजन कार्यालय नेपालगन्जले ताेड्ने निर्णय गरेको छ । पटक पटक म्याद थप गर्दापनि ठेकेदार कम्पनीले सडकको काम सम्पन्न गर्ने नदेखाएपछि डिभिजन कार्यालय नेपालगन्जले ठेक्का सम्झौता तोडेको हो ।
तीन पटक म्याद थप र त्यस यता पनि लगातार बिभिन्न सुबिधा दिएर काम गर्ने अवसर दिँदा पनि ठेकेदार कम्पनी गजुरमुखी कन्ट्रक्सनबाट काम हुन नसकेपछि सम्झौता तोडिएको सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख निरज शाक्यले जानकारी दिए ।

स्थानीयबाट लामो समय देखि काम नगर्ने ठेकेदारसँगको सम्झौता तोडेर नेपालगन्ज बर्दिया सडक निर्माण गरिरहेको शर्मा एण्ड कम्पनीलाई काम सुम्पन आग्रह गर्दै आएका थिए । खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर बिक पहलमा सडक डिभिजन कार्यालय नेपालगन्जले ताेड्ने निर्णय गरेकाे छ। अवको बाँकी काम सडक बिभागको निगरानीमा शर्मा एण्ड कम्पनीबाट गराउन आग्रह गरेकाे अध्यक्ष विकले बताए । काम नगर्ने ठेकेदारसँगको सम्झौता रद्द गर्न माग गर्दै गाँउपालिकाले पटक पटक डेलिगेशन गएको स्मरण गर्दै त्यस्ता ठेकेदारलाई कालोसूचीमा लैजान ढिला गर्न नहुने उनले बताए ।डिभिजन प्रमुख शाक्यले पनि अव ठेकेदार कम्पनीलाई कालोसूचीका लागि सिफारिस गर्ने बाटो खुलेको बताए । उनले सम्झौता तोडिएकाले ठेकेदारले राज्यलाई पु¥याएको क्षतिको एकिन गरि असुल गरिने र बाँकी प्रक्रिया अगाडि बढ्ने बताए ।
बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर लम्बाइको चारलेन सडक २०७४ चैतमा गजुरमुखी कन्स्ट्रक्सन कम्पनी, इलामले निर्माण थालेको थियो । उक्त सडक २०७७ चैतमा निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर हालसम्म तीनपटक म्याद थप भए पनि काम सन्तोषजनकरूपमा अघि बढ्न नसकेपछि ठेक्का सम्झौता ताडेर कालो सूचीमा राख्न नागरिक स्तरबाट माग हुँदै आएको छ ।
