सन्दीपको सर्रे फाइनलमा

मुख्य खबर

नेपालगन्ज : नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने आबद्ध सर्रे जगुआर्स ग्लोबल टी-ट्वान्टी क्यानडा २०२३ को फाइनलमा प्रवेश गरेको छ ।

 शुक्रबार राती सम्पन्न पहिलो क्वालिफायरमा भ्यानकुभर नाइट्सलाई ३८ रनले हराउँदै सर्रेले फाइनलमा स्थान पक्का गरेको हो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सर्रेले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो । सर्रेका लागि कप्तान इफ्तिखर अहमदले २८ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३६ रनको योगदान दिए । मोहम्मद हरिस २०, जतिन्दर सिंह १५, लिटन दास १६ र आयन खानले २९ रन बनाए ।

नाइट्सका लागि तीव्र गतिका बलर जुनैद सिद्दिकले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए । रुबेन ट्रम्पलम्यान र कार्तिक मयाप्पनले समान एक विकेट लिए ।

जितको लागि १ सय ४० रनको मध्यम विजयी लक्ष्य पछ्याएको नाइट्स १६.४ ओभरमा १ सय १ रनमा अल आउट भयो । नाइट्सका लागि फबिएन एलेनले २० बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २७ रनको योगदान दिए । मोहम्मद रिजवान ४ र नाजिबउल्लाह जद्रान १५ रनमा आउट भए ।

सर्रेका लागि तीव्र गतिका बलर म्याथ्यु फोर्डले २.४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । सन्दीपले ३ ओभरमा १५ रन खर्चेर १ विकेट लिए ।

फाइनल खेल आइतबार हुनेछ । दोस्रो क्वालिफायरमा मोन्टरिएल टाइगर्स र नाइट्सबीच आज राती प्रतिस्पर्धा हुनेछ । उक्त खेलको विजेताले उपाधिको लागि सर्रेसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *