
मुगु । कर्णाली प्रदेश खेलकुद विकास परिषदको आर्थिक सहयोग र खेलकुद विकास समिति मुगुको आयोजनामा बुधबारबाट मुगु हुटु रारा तालको किनारमा ‘रारा कप खुल्ला महिला÷पुरुष कबड्डी प्रतियोगिता’ सुरु भएको छ ।
मुगु जिल्ला खेलकुद विकास समतिका अध्यक्ष वीरेन्द्रबहादुर मल्लज्यूको अध्यक्षतामा बुधवार मुगु हुटु रारा तालको किनारमा सुरु भएको प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेश सभा सदस्य एवं सार्वजनिक लेखा समितिका सभापति पूर्व मन्त्री जीत बहादुर मल्लज्यूले गर्नु भएको छ ।

प्रतियोगितामा कर्णाली प्रदेशका हुम्ला बाहेक ९ वटै जिल्लाबाट पुरुष कबड्डी टिमको सहभागिता रहेको छ भने डोल्पा,हुम्ला र रुकुमपश्चिम बाहेक अन्य ७ जिल्लाबाट महिला कबड्डी टिमको सहभागिता रहेको छ ।
कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल राराको किनारमा यसरी खेलकुद प्रतियोगिता आयोजना भएको यो पहिलो पटक हो । कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्यालज्यूले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको कर्णाली प्रदेश आयोजक भएकोले पनि खेललाई पर्यटनसँग जोड्नको लागि यसरी पर्यटकीय स्थलमै कर्णाली प्रदेश स्तरीय ‘रारा कप खुल्ला महिला÷पुरुष कबड्डी प्रतियोगिता’को आयोजना गरिएको बताउनु भयो ।
‘खेल क्षेत्रमा कर्णालीको सम्भावना धेरै छन् । कर्णालीमा साहासीक खेलकुद प्रतियोगिताको आयोजना पनि आयोजना गर्न सकिन्छ । १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति पनि नजिकिदै छ । खेललाई कर्णालीका प्रमुख पर्यटकीय गन्तव्यसँग कसरी जोड्न सकिन्छ यो हामिले योजना बनाइरहेका छौ, ‘सदस्य सचिव संज्यालले भन्नु भयो,’ ‘यो हामिले सुरुवात मात्र गरेका हौ । अब कर्णाली खेलकुद क्षेत्रमा अगाडी बढिसक्यो ।’
कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य एवं कर्णाली प्रदेशका पूर्व भौतिक पूर्वाधार एवं शहरी विकास मन्त्री मंगल शाहीज्यूले रारामा प्रदेश स्तरीय प्रतियोगिता हुनु भनेको सुखीको कुरा भएको भन्दै आउने दिनमा पनि यस्ता खेलकुद प्रतियोगिताहरुलाई निरन्तरता दिनु पर्ने बताउनु भयो ।
रारामा भ्रमण गर्न देश विदेशका थुप्रै पर्यटक आउने भएकाले पहिलो पटक आयोजना गरिएको यो प्रतियोगिताले मुगुको लागि धेरै ठुलो सफलता भएको मुगु जिल्ला अध्यक्ष वीरेन्द्र बहादुर मल्लज्यूको भनाई थियो ।
मुगुको माझघट्ट र हुटुमा खेलाडी, प्रशिक्षकसम्पूर्णको बासस्थानको व्यवस्थापन गरिएको छ भने प्रतियोगिताको अबधिभर खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अफिसियल र सुरक्षाकर्मी गरी जम्मा ३५२ जनाको सहभागिता रहने अध्यक्ष मल्लको भनाई छ ।
प्रतियोगिता २८ गतेसम्म संचालन हुने छ ।
