
नेपालगन्ज : पछिल्लो समय आयुर्वेद उपचार पद्धतिप्रति खजुरा स्थानीय बासिन्दाको आकर्षण बढ्दै गएपछि खजुरामा पहिलो पटक आयुर्वेद थेरापी सेवा सुरु भएको छ ।
बाँकेको खजुरा गाउँपालिका –३काे नागरिक आरोग्य सेवा केन्द्रमा पूर्वकर्म तथा पञ्चकर्म (थेरापी) सेवा पहिलो पटक सुरु गरिएको हो । नागरिक आरोग्य सेवा केन्द्र खजुरा गाउँपालिका प्रमुख किरण खनाले जानकारी दिनुभयो ।
भवन तथा पञ्चकर्म/ पुर्वकर्म थेरापी सेवा विस्तारकाे उद्घाटन गर्दै खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक तुफानले आयुर्वेद उपचार पद्धति र योग शिक्षाप्रति मानिसको आकर्षण बढ्नु स्वास्थ्यका लागि राम्रो भएको र खजुरा नागरिक आराेग्य सेवा केन्द्रलाई अस्पतालकाे रुपमा बिकास गर्ने बताउनुभयो ।

नशा च्यापिएका, बाथरोग, मोटोपन घटाउने लगायतको समस्या आयुर्वेद थेरापीबाट समाधान गर्न सकिने आयुर्वेद शाखा प्रमुख किरण खनालले बताउनुभयो । सेवाग्राहीको रोग पहिचान गरी उपचारमा सहजता थप्न पूर्वकर्म तथा पञ्चकर्म थेरापीले ठुलो भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो ।
आयुर्वेद शाखा प्रमुख खनालका अनुसार सो नागरिक आरोग्य सेवा केन्द्रमा निःशुल्क औषधी वितरण, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवर्धनका लागि रसायन औषधी वितरण, सुत्केरी महिलालाई लक्षितगरी स्तनपायी सेवा, दुग्धवर्धक र सुरक्षात्मक औषधी वितरण, विद्यालय आयुर्वेद तथा योग शिक्षालगायतका सेवाहरू प्रवाह गरिनेछ । त्यसैगरी नसर्ने रोगको न्यूनीकरणमा समेत सेवा केन्द्रले सन्देश प्रवाह गर्नेछ ।
चिकित्सा विज्ञानसँगै आयुर्वेद उपचारलाई पनि पालिकाले प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिकाले जनाएको छ । पछिल्लो समय मानिसको दैनिक जनजीवन अस्तव्यस्त भइरहेकाले बढ्दो नसर्ने रोगको न्यूनीकरणका लागि यो उपचार पद्धति पनि प्रभावकारी उपाय भएको छ ।
उक्त अवसरमा खजुरा गाउपालिका प्रेस सयोजक चन्द्र बोहोरा सम्मानित भयका छन।
आयुर्वेद थेरापी सेवा शुभारम्भ कार्यक्रममा खजुरा गाउँपालिका समाजिक बिकास समिति संयाेजक कृष्ण कुमारी पाेखरेल , प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना ,लेखा अधिकृत प्रदिप सुनार, बाँके आयुर्वेद केन्द्रका प्रमुख डा. गीता रेग्मी, वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डा. अनिलकुमार थारु, खजुरा आयुर्वेद शाखा प्रमुख किरण खनाललगायत महिला स्वयंसेविका, आमा समूह, महिला समूह, ज्येष्ठ नागरिकहरूको उपस्थिति थियो ।
