
अदालतले मुद्दाको किनारा लगाउन ढिलाइ गर्दा सन्दीप लामिछानेको क्रिकेट करिअर गम्भीर रूपमा प्रभावित बन्न थालेको छ । एकपछि अर्को पेसी स्थगित हुँदै गएपछि सन्दीप निकै कमजोर मनस्थितिमा पुगेका छन् ।
जिल्ला अदालतमा विचाराधीन मुद्दामा फैसला पेसी नै १७ पटक सरिसकेको छ । पछिल्लो दुईवटा पेसी ‘न्यायाधीश अभाव’ का कारण देखाउँदै स्थगित भए । यो मुद्दाको फैसला आफ्नो भागमा नपरोस भनेर न्यायाधीशहरू भागाभाग गरिरहेका छन् । उनको पेसीको दिन न्यायाधीशहरू अदालत आउनसमेत डराउन थालेको स्रोतहरू बताउँछन् ।

हरेकपटक नेपालको अन्तर्राष्ट्रिय प्रतियोगिता आउँदा सन्दीपलाई मुद्दाले दु:ख दिने गर्छ । उनी टीमसँग विदेश उड्न पाइरहेका छैनन् । अदालतले सन्दीपलाई क्रिकेट खेल्न कुनै रोकटोक गरेको छैन । विदेश जान पनि अनुमति छ । तर, विदेश उड्ने बेलामै अदालतको पेसी तोकिने मुद्दाको लेठो आइपर्ने नमिठो संयोग जुरिरहेको छ ।
मुद्दाको तनावले गर्दा सन्दीपको प्रदर्शनमै असर पर्न थालेको देखिन्छ । हालै एसिया कपमा भारत र पाकिस्तानविरुद्ध उनले राम्रो बलिङ गर्न सकेनन् । मैदानमा उनको बडि ल्याङ्वेज पनि फरक देखिन्थ्यो । जबकि नेपालको एकदिवसीय मान्यता कायम राख्न, विश्वकप क्वालिफायर्समा पुर्याउने र एसिया कपमा छनोट गराउन उनको सबैभन्दा ठूलो हात थियो । सन्दीप टीममा नभएको भए नेपालको एकदिवसीय मान्यता जोगिँदैनथ्यो भन्नेमा नेपाल क्रिकेट संघका अधिकारीहरू पनि सहमत छन् । तर, अदालतमा विचाराधीन मुद्दामा आफूहरूले केही गर्न नसक्ने उनीहरूको भनाइ छ ।
क्यानका एक अधिकारीले भने, ‘हाम्रो तर्फबाट सन्दीपलाई सबै साथ र टेवा दिइरहेका छौं । तर, अदालतले मुद्दाको फैसलामा ढिलाइ गर्दा उसको करिअर नै लथालिङ्ग बनेको छ ।
स्रोतका अनुसार चन्दसँगको भेटवार्तामा सन्दीप निकै विक्षिप्त देखिन्थे । उनी पटक-पटक रोएका थिए । अध्यक्ष चन्दले उनलाई हौसला दिने प्रयास गरे । जसरी पनि चीन जान आग्रह गरे ।
‘तिमीसँग क्रिकेट खेल्न धेरै समय बाँकी छ । अहिले नै यसरी हिम्मत नहार,’ चन्दको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
सन्दीपले आज दिनभरि आफूले सोच्ने बताएका छन् ।–nepalpress
