
नेपालगन्ज : अर्जेन्टिनी स्टार लियोनल मेसीले दोस्रो खेलमा दुई गोल गरेपछि मेजर लिग सकर टोली इन्टर मियामीले लगातार दोस्रो जित निकालेको छ ।
बुधबार बिहान घरेलु मैदान भिआरभी पिएनकी मैदानमा इन्टर मियामीले एटलान्टा युनाइटेडले ४–० ले हराएको छ । इन्टरको जितमा मेसी र रोबर्ट टेलरले समान दुई गोल गरेका थिए ।

खेलको आठौं मिनेटमा कप्तान मेसीले अग्रता बनाए । बार्सिलोनाका पूर्वसहकर्मी सर्जियो बुस्क्वेटले मिलाएको बललाई मेसीले गोल गरेका थिए । आफैको प्रहार पोलमा लागेर फर्किएपछि मेसीले दोस्रो अवसरमा गोल गरेका हुन् ।
२२औं मिनेटमा मेसीले अग्रता दोब्बर बनाएका हुन् । टेलरले मिलाएको पासलाई बक्सभित्रबाट मेसीले सहज गोल गरे । टेलरले ४४औं मिनेटमा मेसीको पासमै गोल गरेका हुन् । ५३औं मिनेटमा ब्यक्तिगत दोस्रो तथा टोलीको लागि चौथो गोल गरेका थिए ।
