खजुरामा सुरुभयो अध्यक्ष कप तथा रास्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता

मुख्य खबर

नेपालगन्ज : बाँकेको खजुरामा सातौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८१ शुरु भएकोछ ।
पालिका तहमा खेलकुदको ‘महाकुम्भ’ भनेर परिचित अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुक्रबारदेखि शुरु भएको हो ।

खजुरा गाउँपालिका वडा नम्बर–२ के गाउँ स्थित शुक्र भलिबल स्टेडियम सितापुरमा एक भब्य समारोहका बीच उक्त प्रतियोगिताको उद्घाटन गरिएकोछ ।

शुक्र मावि के गाउँको व्यवस्थापन तथा खजुरा गाउँपालिका खेलकुद विकास समिति र शिक्षा समितिको संयुक्त आयोजनामा आगामी पुष २९ गतेसम्म हुने प्रतियोगितामा विभिन्न विधामा जम्मा ४८ वटा प्रतियोगिता भइरहेकाछन् ।
सामाजिक विकास संयोजक कृष्णा पोख्रेलको सभाध्यक्षतामा भएको उद्घाटन शत्रमा पालिका अध्यक्ष विक र उपाध्यक्ष मल्लले पानसमा द्वीप प्रज्वलन गरि प्रतियोगिताको उद्घाटन गरेका थिए । भने सोक्रममा बटुकद्वारा शान्ति स्तुती श्रवण गराइएको थियो ।

गाउँपालिका अध्यक्ष बिकले ओलम्पिक लाईट प्रज्वलित गरेका थिए भने गतवर्षकी एथलेटिक्स विजेता ज्ञानोदय नमुना माविकी विद्यार्थी सरस्वती महाउतले उक्त ओलम्पिक लाईट लिएर मैदान परिक्रमा गरेकी थिइन् । सो क्रममा निर्णायकको तर्फबाट सयोजक चन्द्रबहादुर गुरुङ र खेलाडिका तर्फबाट सरस्वती महाउतले सपथ लिएका थिए ।

प्रतियोगितामा माध्यमिक तह कक्षा ९ देखि १२, आधारभूत तह कक्षा ६ देखि ८ र प्राथमिक तहमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुले रनिङ शिल्डमा प्रतिस्प्रधा हुनेछ ।

प्रतियोगितामा माध्यमिक तर्फ एथलेटिक्स भलिबल र कबड्डी गरी जम्मा ३० इभेन्ट, आधारभूत तहमा निमावि तर्फ १२ वटा र प्राथमिक तहमा ६ वटा एथलेटिक्स इभेन्ट गरि जम्मा ४८ वटा इभेन्टमा प्रतियोगिता सञ्चालन हुनेछ ।

पालिका स्तरको राष्ट्रपति रनिङशिल्ड सातौं अन्तर विद्यालय मेयर रनिङशिल्ड प्रतियोगिताबाट छनोट चरणमा उत्कृष्ट खेलाडिलाइ जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा पठाइनेछ । उक्त प्रतियोगिता अन्र्तगत भलिबल, कबड्डी र एथलेटिक्सतर्फ हुने खेलमा खेलाडीले सहभागिता जनाउनेछन् ।

प्रतियोगिता सफल पार्न कुल १२ लाख ५३ हजार ६ सय बजेट खर्च हुनेछ । जसका लागि विद्यालयबाट दर्ता शुल्क बापत २ लाख ५३ हजार ६ सय र खेलकुद विकास समिति मेयर कप शीर्षकबाट १० लाख गरि जम्मा १२ लाख ५३ हजार ६ सय रुपैयाँ खर्च हुनेछ । गत वर्षको तुलनामा यस वर्ष प्रतियोगिता सञ्चालनका लागि ३ लाख बजेट कटौती भएको छ ।
खजुरा गाउँपालिकामा रहेका विविध जातजाति, धर्मावल्मी र साँस्कृतिक पहिचान र सद्भाव कायम गर्न प्रतिकको रुपमा सातौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताको लोगोमा विविध धर्मका धार्मिक स्थलहरु अंकित गर्नुका साथै किरण खोलामा पाइने गोहीलाई मस्कटको रुपमा राखिएकोछ ।

प्रतियोगिता भब्य र सभ्यरुपमा सफल पार्न विभिन्न समिति समेत गठन गरिएकोछ । खजुरा गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समिति संयोजक डम्बर बहादुर विक तुफानको अध्यक्षतामा प्रतियोगिता २३ सदस्यीय प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन मुल समिति गठन गरिएकोछ । जसमा खेलकुद प्रतियोगिता उद्घाटन समारोह, मञ्च व्यवस्थापन तथा अतिथि सत्कार उपसमितिको जिम्मा जगतबहादुर राना, जुरी अफ अपीलको अध्यक्षमा स्वयम गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक तुफान, गीता गोदारलाई उद्घोषण, पुरस्कार खरिद तथा वितरण व्यवस्थापन उपसमिति मोतिराम अधिकारी, स्वयमसेवक परिचालन उपसमितिमा पुर्ब विद्यालय व्यवस्थापन समिति अध्यक्ष केशव चन्द, प्राविधिक तथा फिल्ड निर्माण उपसमिति चन्द्रबहादुर गुरुङ, भोजन, खाजा र सरसफाई व्यवस्थापन उपसमिति पूर्व शिक्षक जयलाल अधिकारी, प्रचारप्रसार उपसमितिमा प्रेस सल्लाहकार चन्द्र बोहरा, आर्थिक उपसमिति वडा अध्यक्ष धनिराम ओली, स्वास्थ्य तथा प्राथमिक उपचार उपसमिति स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसी, शान्ति सुरक्षा उपसमिति वडाअध्यक्ष धनिराम ओली, प्रशासनिक एवम व्यवस्थापकीय जिम्मेवारी शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खगेन्द्रबहादुर मल्ललाई जिम्मेवारी दिइएकोछ । यस्तै खेल अवधिभर खेल मैदानलाई व्यवस्थित गर्न जनसेवा माध्यमिक विद्यालयका प्रधानाध्यापक टंक दहाललाई फिल्ड मार्शलको जिम्मेवारी तोकियको छ भने सहायक फिल्ड मार्शमा ध्रुवतारा विद्या मन्दिरका प्रधानाध्यापक प्रदीप खनाललाई जिम्मेवारी दिइएकोछ ।

प्रतियोगिता उद्घाटन अघि पञ्चेबाजासहित गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक ‘तुफान’ र उपाध्यक्ष मञ्जु मल्ललाई रिमझिम चोकदेखि शुक्र भलिबल स्टेडियम सितापुरसम्म स्वागत गरिएको थियो ।

उद्घाटन शत्रमा सहभागि विद्यालयका विद्यार्थीहरुले पञ्चेबाजासहितको मार्चपास गरेका थिए । भने अध्यक्ष विकले सलामी दिएर विद्यार्थीको हौसला बढाएका थिए । उद्घाटनका क्रममा जनता नमुना सन्तकुटी र शुक्र मावि सितापुरका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *