राप्तिसोनारी खेल शिक्षक प्रशिक्षण सम्पन्न

मुख्य खबर

राप्ती सोनारी । बाँकेको राप्ती सोनारी गाउँपालिकाले खेल शिक्षकहरुका लागि संचालन गरिएको पाँच दिने प्रशिक्षण तालिम शुक्रबार सम्पन्न भएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’को मुख्य नाराका साथ गाउँपालिकाका विद्यालयहरुमा कार्यरत खेल शिक्षकहरुलाई भलिबल, एथलेटिक्स, कवड्डी लगायतका खेलहरुका बारेमा गत सोमबारदेखि दिन पाँच दिने प्रशिक्षण तालिम संचालन गरिएको थियो ।

गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले प्रशिक्षणको उद्घाटन गर्नुभएको थियो । राप्ती सोनारी खेलकुद विकास समिति, राप्ती सोनारी गाउँपालिकाको आयोजनामा संचालित तालिमको समापनमा बोल्दै गाउँपालिका अध्यक्ष पौडेलले शैक्षिक क्रियाकलापलाई प्रभावकारी बनाउन पालिकाले आवश्यक कार्यक्रमहरु तयार गर्ने बताउनुभयो ।

शिक्षकहरुले सिकेको र पहिलादेखि भएको खेल प्रशिक्षण क्षमताले विद्यार्थीहरुलाई तप प्रात्साहित गर्ने अध्यक्ष पौडेलले उल्लेख गर्नुभयो । शिक्षकले चाहेको अवस्थामा विद्यार्थीलाई प्रेरित गर्नका साथै सकारात्मक दिसातर्फ मोड्न सक्ने भएकाले गुरुको स्थान सदैव उच्च रहेको धारणा राख्नुभयो ।

सो क्रममा वडा नं ८ का वडाअध्यक्ष सालिकराम डाँगीले शिक्षण कार्यका लागि यो दक्षतासमेत जरुरी रहेकाले यस्ता दक्षताको बृद्धि तथा कार्यान्वयनमा स्वयं शिक्षक ज्यूहरु पनि सक्रिय भइरहनुपर्ने बताउनुभयो । उहाँले स्थानीय सरकारले पालिकाको शिक्षा क्षेत्रका लागि उपलब्धीमूलक ढंगले लागेकोसमेत बताउनुभयो ।

राप्ती सोनारी गाउँपालिका खेलकुदको उर्वरभूमिका रुपमा रहेका र शिक्षकहरुले खेलकुदको आधारभूत कुराहरु सिकेको अवस्थामा विद्यार्थीहरुमा खेलकुदको क्षमता बढाउन प्रेरित गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम गरिएको खेलकुद विकास, समितिका संयोजक सभापति तेजबहादुर सुवेदीलेले बताउनुभयो ।

प्रशिक्षण तालिममा पालिकाका सबै तहका विद्यालयहरुका खेल शिक्षकहरुको सहभागिता रहेको थियो । २ वटा निजी विद्यालयका शिक्षकहरु गरी २८ जना सहभागि रहेको गाउँपालिका शिक्षा शाखा प्रमुख जीवन न्यौपानेले जानकारी दिनुभयो ।

सहभागिहरुलाई एथलेटिक्सका प्रमुख प्रशिक्षक धन्द्र बहादुर गुरुङ्ग, भलिबलतर्फ प्रकाश शर्मा, कवड्डीतर्फ जनार्दन खत्री र तेक्वान्दोतर्फ जंगदिप चौधरीले प्रशिक्षण दिनुभएको थियो ।

यस वर्ष गाउँपालिकाले वडा नं ८ स्थित शिवशक्ति माध्यमिक विद्यालय पेरानीमा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता गर्ने भएको छ । रनिङ्गशिल्ड यही विद्यालयमा हुने भएकाले फिल्ड अध्ययन तथा खेलका लागि आवश्यक पूर्वाधार निर्माणमा सहयोग पुग्ने अपेक्षाका साथ प्रशिक्षण तालिम गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *