उनको जनकपुर मुरलीचोकस्थित न्यूरो अस्पतालमा राम्रो उपचार पनि भयो । अन्ततः एक महिनादेखि उनी निको भएर अस्पतालबाट डिस्चार्ज भइन् । तर अहिलेसम्म घर जान पाएकी छैनन् । दुई छोरा र एक छोरी पनि आमासँगै घर जाने दिनको प्रतीक्षामा छन् ।
अस्पतालको शय्यामा पल्टिरहेकी मन्तोरियालाई कसैले केही सोध्नासाथ आँखाबाट आँसुको भेल बग्छ । सहयोगको आशमा उनी आफ्नो पीडा अभिव्यक्त गर्न खोज्छिन् । राम्ररी बोल्न सक्दिनन् ।
उनी अस्पतालबाट डिस्चार्ज भएको ३६ दिन भइसकेको छ । तर उपचार खर्चवापतको ६ लाख ६९ हजार ३०० र फर्मेसीमा औषधिको २ लाख ५ हजार ७८२ तिर्न बाँकी छ । सो रकम नतिरी उनी घर जान पाएकी छैनन् । अस्पतालमै छ तीन बालबच्चा र वृद्ध ससुराको बसाइ । कसले बिल तिरिदिने र कसरी घर जाने कुनै टुंगो छैन ।
मन्तोरियाकै समस्या बुझ्न शुक्रबार अस्पताल पुग्दा उनी अस्पतालको एउटा कोठाको बेडमै पल्टिरहेकी थिइन् । छेउमै थिइन् ८ वर्षीया छोरी । दुर्घटनामा परेदेखि आमाको रेखदेख स्याहार सुसार वर्षातले नै गर्दै आएकी छन् । यो कोठामा अरु बिरामी छैनन् । मन्तोरिया, उनका बालबच्चा र वृद्ध ससुरा मात्र हुन्छन् यहाँ ।