१९ चैत, काठमाडौं । एक महिनाको अवधिमा झण्डै एक लाख पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार मार्च २०२३ मा ९९ हजार ४२६ जना पर्यटक नेपाल भित्रिएका हुन् । एक महिनामा भित्रिएको यो संख्या कोरोना महामारी सुरु भएयताकै सबैभन्दा धेरै हो ।
बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार मार्चमा भएको यो आगमन सन् २०१९ को तुलनामा ७८ प्रतिशत सुधार हो । सन् २०१९ मा मार्च महिनामा १ लाख २७ हजार ३५१ जना पर्यटक नेपाल आएका थिए । यो वर्ष कोभिड-१९ सुरु भएको थिएन ।
भारतीय र अमेरिकी तथा युरोपबाट आगमनमा सुधार हुँदा समग्र पर्यटनमा सकारात्मक संकेत देखिएको उनले बताए । यससँगै सन् २०२३ को तीन महिनाको अवधिमा २ लाख २७ हजार ७५५ जना पर्यटक नेपाल आएका छन् । जनवरी २०२३ मा ५५ हजार ७४ जना पर्यटक नेपाल आएका थिए । फेब्रुअरीमा ७३ हजार २५५ जना पर्यटक नेपाल आएको बोर्डको तथ्यांकमा उल्लेख छ । मार्चमा यो संख्या उल्लेख्य बढेको छ । नेपालमा अब पर्वतारोहणको मौसम सुरु हुँदैछ । यससँगै अप्रिल महिनामा आगमन अझ बढ्ने गर्छ ।