कक्षा एक र चारमा पढ्ने छात्रामाथि स्कुलकी लेखापालको चरम यातना !

अन्तराष्ट्रीय मुख्य खबर शिक्षा

काठमाडौं । निजी स्कुलमा बालबालिका पढाउन सजिलो छैन, पहिलो त चर्को शुल्क । त्यसमाथि पोशाक–कापी कलम–पुस्तक, अतिरिक्त क्रियाकलाप आदि विभिन्न नाममा बुझाउनु पर्ने रकमले अभिभावकको ढाड सेक्छ ।

यति गर्दा पनि आफ्ना बालबालिकाको भौतिक सुरक्षाको ग्यारेन्टी चाहिँ नहुँदो रहेछ । सिन्धुलीको लिटिल फ्लावर र दमकको अक्सफोर्ड नाम गरेका दुई निजी स्कुलले चार र एक कक्षामा पढ्ने बालबालिकामाथि यसरी कुटपिट गरेका छन् कि ती बालबालिका अस्पताल भर्ना हुने अवस्थामा पुगेका छन् ।

छाला फुट्ने गरी, रक्ताम्य हुने गरी कुटपिट गर्दा पनि कुट्नेहरुको रिस शान्त भएनछ । कस्तो डरलाग्दो रिस त ? यसरी त पशुलाई पनि यातना दिन मिल्दैन ।

सिन्धुलीको दूधौली ९ मा रहेको लिटिल फ्लावर इङ्लिस बोर्डिङ स्कुल र झापाको दमक–३ मा रहेको अक्सफोर्ड इङ्लिस सेकेन्डरी स्कुल विद्यार्थी कुटपिटमा मुछिएका छन् ।

यो निलडाम र यातनाको यस्तो रुप सिन्धुलीकी बालिका विदिका गौतमको हो । दूधौलीमा रहेको लिटिल फ्लावरका लेखापाल परी कार्कीले बालिकालाई कुटेर यस्तो हालत पारेकी हुन् ।

बालिकालाई अस्पताल नै भर्ना हुने गरी लेखापाल कार्कीले कुटिरहँदा विद्यालयका सञ्चालक तथा प्रिन्सिपलले त्यो यातना हेरेर बसेका थिए । लिटिल फ्वालर निजी विद्यालय हो । अभिभावकहरुले आफ्ना बालबालिकाको राम्रो रेखदेख हुने र गुणस्तरीय शिक्षा पाउने विश्वास गरेर स्कुललाई शुल्क बुझाउने गर्छन् । तर यो विद्यालय शिक्षाको केन्द्रभन्दा यातनालय बनेको छ ।

सामाजिक सञ्जालमा केही गलत कुरा लेखिएको भन्दै विद्यालय पुगेकी बालिकालाई लेखापाल कार्कीले कक्षाकोठा प्रवेश गर्नुअघि नै आफ्नो कार्यकक्षमा बोलाएर कुटपिट गरेकी थिइन् ।

पीडित बालिकाका अभिभावकहरुको भनाइअनुसार सुरुमा कार्कीले बालिकाको कपाल समातेर गालामा झापडै झापड हिर्काइन् ।

सञ्चालकबारे नकारात्मक टिप्पणी गरेको भन्दै ती चार कक्षामा पढ्ने बालिकामाथि उनी अझै आक्रामक भइन् । कलिली बालिकामाथि झापड लगाउँदा पनि उनको रिस शान्त भएन । त्यसपछि उनले बाँसको भाटाले शरिर र हातखुट्टामा छाला फुटुन्जेल कुटिन् ।

विद्यालयका प्रिन्सिपल युवराज शाही भनिने लिलबहादुर शाहीले स्वीकार गरेका छन् । पीडित बालिकाका अभिभावकले प्रहरीमा जाहेरी दर्ता गर्न खोज्दा प्रहरीले भने जाहेरी दर्ता नगरी मेलमिलाप गर्न दबाब दिएको छ ।

यस्तै अर्को घटना झापाको दमक ३ मा रहेको अक्सफोर्ड इङ्लिस सेकेन्डरी स्कुलमा पनि पाइएको छ । गएको शुक्रबार कक्षा १ मा पढ्ने इभान बरालाई विद्यालयकी शिक्षिका एलिना न्यौपानले निर्घात कुटपिट गरेकी छिन ।

शिक्षिका न्यौपानले दिएको गृहकार्यका दुई प्रश्नको जवाफ नलेखी कक्षा १ का बालक इभान विद्यालय पुगेका थिए । गृहकार्य नगरेको झोंकमा खुट्टाका पिडौंला भरी रक्ताम्य हुने गरी कुटपिट गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *