प्रदेशको नाम कोशी खारेज गरेर किराँत राख्न माग गर्दै प्रदर्शन भएको छ।

प्रदेश मुख्य खबर विचार / ब्लग

‘कोशी’ प्रदेश नामाकरण खारेजीको मागसहित विभिन्न राजनीतिक दल र जातीय सङ्गठनहरूले आज झापासहित पूर्वका १४ जिल्लामा बन्द आह्वान गरेका छन् ।

गत फागुन १७ गते प्रदेश १ लाई कोशी प्रदेश नामाकरण गरिएसँगै त्यसको विरोधमा उत्रिँदै राजनीतिक दल र जातीय सङ्गठनहरूले आज कोशी प्रदेश बन्दको आह्वान गरेका हुन् । आन्दोलनमा ६ वटा राजनीतिक दल र ३४ वटा जातीय सङ्गठनले समर्थन गरेका छन् ।

झापामा बन्दको आंशिक प्रभाव परेको छ । बन्दमा कुनै पनि अमानवीय कार्य नहोस् भनेर प्रहरीले बन्दको आह्वान गरी हिँड्ने करिब दुई दर्जन बन्दकर्तालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र रिजालले झापाको मेचीनगर, चाराआली, बिर्तामोड, दमकलगायत क्षेत्रबाट करिब दुई दर्जन बन्दकर्तालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

राजमार्ग र मुख्य बजार क्षेत्रमा सशस्त्र र नेपाल प्रहरी परिचालन गरी बन्दकर्तालाई नियन्त्रण लिइरहेको डीएसपी रिजालले बताए । प्रहरी नियन्त्रणमा लिनेहरूमा जनता समाजवादी पार्टीका प्रदेश सदस्य गौरीमान राई, सङ्घीय लिम्बुवान पार्टीका अध्यक्ष सन्जुहाङ पालुङ्वाका छोरा साम पालुङ्वा, आदिवासी जनजाति महासंघका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ, पवन मेचेलगायत रहेका छन् ।

बन्दका कारण लामो दुरी यातायातका सवारीसाधन ठप्प बनेको छ । छोटो दुरीका सवारीसाधन सञ्चालन भइरहेको डीएसपी रिजालले बताए । शैक्षिक संस्था पूर्ण रुपमा बन्द छ । बन्दकर्ताहरूले जबरजस्ती पसलहरू बन्द गराउँदै हिँड्नेपछि बिर्तामोडका साना व्यवसायीहरू त्यसको प्रतिकारमा समेत उत्रिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *