बाँके–२ मा चुनावी लहर: विभिन्न दलका नेता–कार्यकर्ता नेकपामा प्रवेश, दिपेन्द्र बिष्टलाई खुलेर समर्थन

मुख्य खबर

नेपालगन्ज, बाँके — बाँके क्षेत्र नं. २ मा प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगर्मी थप तातेको छ। सोमबार नेपालगन्जका विभिन्न वडाबाट विभिन्न राजनीतिक दल परित्याग गरी दर्जनौं नेता–कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूले तारा ध्वजाबाहक उम्मेदवार दिपेन्द्र बिष्टलाई साथ र समर्थन गर्ने घोषणा गरेका छन्।

नेपालगन्जका विभिन्न वडाबाट आएका स्थानीय राजनीतिककर्मी, युवा अभियन्ता र सामाजिक व्यक्तित्वहरू पार्टी प्रवेश कार्यक्रममा सहभागी भएका थिए। उनीहरूलाई पार्टीका जिल्ला तथा क्षेत्रीय नेतृत्वले स्वागत गर्दै अबको चुनावमा संगठित रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नवप्रवेशीहरूको भनाइ छ कि वर्तमान राजनीतिक परिस्थितिमा उनीहरूले नयाँ ऊर्जा, स्पष्ट एजेन्डा र युवा नेतृत्व खोजिरहेका थिए । “हामीले परिवर्तन र प्रत्यक्ष पहुँचको राजनीति रोजेका हौँ,” एक नवप्रवेशी नेताले कार्यक्रममा भने। उनीहरूको दाबी अनुसार दिपेन्द्र बिष्टको अभियानले घरदैलो, प्रत्यक्ष संवाद र स्थानीय मुद्दामा केन्द्रित कार्यक्रममार्फत विश्वास जगाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै दिपेन्द्र बिष्टले आफूलाई समर्थन गर्न आएका सबैलाई धन्यवाद दिँदै यो साथ व्यक्तिगत नभई बाँके–२ को समृद्धि र विकासका लागि भएको बताए। उनले युवाको रोजगारी, सुशासन, पारदर्शिता, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता दोहोर्‍याउनु भयो ।

राजनीतिक विश्लेषकहरूका अनुसार निर्वाचनको मुखमा विभिन्न दलका कार्यकर्ता एकैसाथ पार्टी परिवर्तन गर्नु चुनावी संकेतका रूपमा हेरिन्छ। यसले संगठनात्मक सञ्जाल विस्तार हुनुका साथै मनोवैज्ञानिक प्रभाव पनि पार्ने गर्दछ। विशेषगरी मतदानअघि केही दिनमा देखिएको यस्तो प्रवेश लहरले मतदातामा नयाँ सन्देश प्रवाह गर्ने आकलन गरिएको छ।

विपक्षी दलहरूले भने यसलाई सामान्य राजनीतिक अभ्यासको रूपमा टिप्पणी गरेका छन्। तर स्थानीय स्तरमा भने यस घटनालाई बिष्टको बढ्दो लोकप्रियता र अभियानको प्रभावका रूपमा व्याख्या गरिएको छ।

मतदान हुन अब ३ दिन मात्र बाँकी रहँदा बाँके–२ मा चुनावी समीकरण थप रोचक बन्दै गएको छ। विभिन्न दलबाट आएका कार्यकर्ताहरूको समर्थनसँगै दिपेन्द्र बिष्टको अभियानले थप ऊर्जा पाएको देखिन्छ। अब मतपेटिकाले नै यस चुनावी लहरको वास्तविक प्रभाव कति गहिरो छ भन्ने स्पष्ट पार्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *