बाँके माघ २७
बाँके निर्वाचन क्षेत्र नं.२ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कमरुद्दिन राईले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएका छन्। जनताको घरदैलोमै पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्ने अभियानलाई प्राथमिकता दिँदै उनी आज नेपालगन्ज पमहानगरपालिका वडा नं.२१ बिर्ता पुगे। घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार राईले स्थानीय बासिन्दासँग भेटघाट गर्दै उनीहरुको समस्या, सुझाव र अपेक्षा सुन्ने अवसर पाए। बिर्ता क्षेत्रका बासिन्दा उम्मेदवार राईलाई स्वागत गर्न पाउँदा उत्साहित देखिएका थिए। बस्ती–बस्तीमा राई पुग्दा युवादेखि वृद्धवृद्धासम्मको सक्रिय सहभागिता देखिदा चुनावी माहोल तातेको स्पष्ट देख्न सकिन्थ्यो ।
मतदाताहरुले रोजगारी, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा सामाजिक सुरक्षासँग सम्बन्धित विभिन्न समस्या खुलस्त रुपमा राखेका थिए। उनीहरुले स्थानीयस्तरमा देखिएका चुनौती समाधानका लागि प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेका थिए। मतदाताका जिज्ञासा र सुझाव सुन्दै उम्मेदवार राईले आफू जनताको प्रतिनिधिका रुपमा संसदसम्म जनआवाज पु¥याउन प्रतिबद्ध रहेको बताए। “जनताको विश्वास र साथ नै मेरो शक्ति हो। यहाँ उठाइएका समस्या र अपेक्षालाई नीति निर्माण तहसम्म पु¥याउने मेरो मुख्य लक्ष्य हो,” उनले भने। घरदैलो अभियानकै क्रममा ९३ वर्षीया एक वृद्ध आमासँगको भेट विशेष भावनात्मक बनेको थियो। वृद्ध आमाले उम्मेदवार राईलाई आशीर्वाद दिँदै, “जानुस्, तपाईंको मेरो शुभकामना छ,” भन्दै शुभेच्छा व्यक्त गरेकी थिइन्। वृद्धाबाट पाएको आशीर्वादले आफूलाई थप जिम्मेवार र उत्साहित बनाएको उम्मेदवार राईले प्रतिक्रिया दिएका छन्। यस अभियानले ग्रामीण क्षेत्रसम्म चुनावी गतिविधि फैलिँदै गएको देखिएको छ। जसपाका नेता राजन राना मगरका अनुसार ग्रामीण क्षेत्रमा जसपाप्रति जनलहर बढ्दै गएको छ। उनले जनताको सक्रिय सहभागिता र उत्साहले पार्टीको पक्षमा सकारात्मक वातावरण सिर्जना भएको दाबी गरे। चुनावी माहोल नजिकिँदै जाँदा उम्मेदवारहरू जनताको घरदैलोमै पुगेर मतदाता मन जित्ने प्रयासमा जुटेका छन्।