जनताको मुद्दा बोकेर संघीय संसदतर्फ कमरुद्दिन राईको यात्रा

मुख्य खबर

बाँके माघ २५
मधेश आन्दोलनले स्थापित गरेका अधिकार र उपलब्धिहरूलाई संस्थागत गर्दै जनताको आवाज संसदसम्म पु¥याउने लक्ष्यका साथ बाँके निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कमरुद्दिन राई चुनावी मैदानमा सक्रिय देखिएका छन्। जनमुखी मुद्दालाई केन्द्रमा राखेर अघि बढिरहेका राईप्रति मतदाताको भरोसा दिनप्रतिदिन बढ्दै गएको देखिन्छ।

नेपालगन्ज उपमहानगरपालिकाको नगर उपप्रमुखको जिम्मेवारीमा रहँदा जनसेवा र विकास निर्माणका कार्यमा सक्रिय भूमिका निर्वाह गरेका राईले संघीय तहबाट अझ प्रभावकारी रूपमा जनताको मुद्दा उठाउने अठोटसहित आफ्नो बाँकी १५ महिने कार्यकालको परवाह नगरी पदबाट राजीनामा दिएका थिए। स्थानीय तहमा गरेका काम, सरल स्वभाव तथा जनतासँगको नजिकको सम्बन्धका कारण उनीप्रति मतदाताको विश्वास थप मजबुत बन्दै गएको स्थानीयवासीहरू बताउँछन्।

चुनावी अभियानअन्तर्गत राई बिहानैदेखि मतदाताको घर–आँगनमा पुगेर प्रत्यक्ष संवाद गरिरहेका छन्। निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्ने डुडुवा गाउँपालिका–१ का जाफरपुरवा, खडैचा, खाले सन्तलिया, उचे सन्तलिया, उचुवा, दर्जिनपुर्वा, कुडवालगायतका बस्तीहरूमा पुगेर उनले जनताका समस्या, आवश्यकता र सुझावहरू सुन्दै आएका छन्।

मतदातासँगको खुला संवाद र सहज पहुँचले उनको चुनावी अभियानलाई थप सशक्त बनाएको देखिन्छ। यस क्रममा मतदाताबाट सकारात्मक प्रतिक्रिया र उत्साहजनक समर्थन प्राप्त भइरहेको जनता समाजवादी पार्टी नेपालका नेता रजनरान मगरले जानकारी दिए। उनका अनुसार राईको विगतको कार्यशैली, जनतासँगको घनिष्ठ सम्बन्ध तथा मधेश आन्दोलनका उपलब्धिहरू जोगाउने प्रतिबद्धताले मतदातामा नयाँ आशा जगाएको छ।

स्थानीय तहदेखि संघीय तहसम्म जनताको आवाज बुलन्द गर्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएका राईप्रति बढ्दो जनसमर्थनले आगामी निर्वाचन थप प्रतिस्पर्धात्मक र रोचक बन्ने संकेत देखिएको छ। जनताको भरोसालाई शक्ति बनाउँदै अघि बढिरहेका राईले आफ्नो चुनावी अभियानलाई अझ तीव्र बनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *