बाके माघ २१
बाँके क्षेत्र नम्बर २ का जसपा नेपाल उम्मेदवार कमरुद्दिन राईको चेहरा हँसिलो हुँदै गएको छ । मतदातासँगको भेटघाट तथा अन्तरक्रियाको क्रममा मतदाताले उनलाई साथ दिएपछि उनको चेहरा दिन प्रतिदिन हँसिलो हुँदै गएको हो ।
मतदाता भेटघाट तथा छलफलका लागि बुधवार नेपालगन्ज उपमहानगरपालिका अन्तरगत त्रिवेणीमोड, सुनार मन्डी, पानी टंकी, बागेश्वरी मन्दिर लगायत क्षेत्रमा पुगेका राईलाई मतदाताले न्यानो स्वागतका साथै आशिर्वाद दिए । ‘मतदाताको माया, स्नेह, सद्भाव र आतिथ्यताले हामीलाई हौसला मिलेको छ,’ जसपा नेपालका नेता कौशल कुमार धोवीले भने, ‘हामी पुगेको ठाउँमा अहिलेसम्म निराश बन्न परेको छैन ।’

कमरुद्दिनले नेपालगन्ज र डुडुवाका धेरै मतदातालाई भेटेर अन्तरक्रिया गरिसकेका छन् । नेपालगन्ज उपमहानगरको उपमेयर भएका बेला समेत घर घरमा पुगेका उनी संसदिय निर्वाचनमा उम्मेदवार बनेपछि मतदाता भेटघाटलाई झनै तिव्रता दिएका छन् । ‘हामी निरन्तर भेटघाटमा छौँ । हामी जान नसकेको ठाउँबाट किन नआएको भन्ने गुनासो आउँछ । हामीलाई मतदाताले आफै फोन गरेर बोलाउँछन्,’ जसपा नेता राजनराना मगरले भने ।

नेपालगन्जको उपमेयर हुँदा जनताको काम गरेका कारण कमरुद्दिनलाई सांसदको निर्वाचनमा सहज भएको छ । थोरै बोल्ने, काम धेरै गर्ने स्वभावका उनी नेपालगन्जमा लोकप्रिय मानिन्छन् । ‘इस बार कमरुद्दिनका भोट दिया जाई,’ नेपालगन्ज सुनार मन्डीका बिजय गुप्ताले भने, ‘पुरानेका काम और ब्यवहार देख चुकेँ । इस बार नवाका भोट दिया जाइ ।
मधेसबादी दलबाट उठेका कारण पनि कमरुद्धिनको पल्ला भारी भएको हो । मधेसको मुद्धा अन्य दल नभएकोले मधेसी र मुस्लिम समुदायमा उनको पकड राम्रो भएको विश्लेषण गरिएको छ । ‘मधेसी, मुस्लिमको आवाज बोल्ने उम्मेदवारलाई भोट दिने योजना बनाएका छौँ,’ त्रिवेणी मोडमा भेटिएका एक मतदाताले भने, ‘मधेसी र मुस्लिमको अधिकारका लागि नबोल्नेलाई यसपाली बाई बाई गर्नु पर्छ ।’
मतदाताले देखाएको सौहार्दताले आत्मवल बढेको जसपा नेपालका उम्मेदवार राईले बताए । उनले मधेसी, मुस्लिममात्र नभई अन्य समुदायका मतदाताले समेत माया गरेको बताए । ‘मतदाताले हामीलाई सोँचेभन्दा धेरै साथ दिनु भएको छ । यसले हामीलाई हौसला मिलेको छ,’ उनले भने ।