
बाँकेको खजुरास्थित पेडारी खोलाको बाढी सडकमा पसेपछि आवागमनमा कठिनाइ भएको छ । आइतबार बिहानदेखि परेको अविरल वर्षका कारण पेडारी खोलामा पानीको सतह पुल बाहिर सडकबाट बगेका कारण नेपालगञ्ज–गुलरिया सडकमा सवारी आवागमनमा कठिनाइ भएपछि खजुरा गाउँपालिकाका

अध्यक्ष डम्बर विककाे निर्देशनमा गाउँपालिकाकाे ट्याक्टर प्रयाेग गरेर अलपत्र यात्रुहरुलाई खोला तर्ने ब्यबस्था मिलाउनुका साथै सवारी आवागमनमा सहजता ल्याउन सुरक्षाकर्मीको सहयोगमा उद्धार कार्य गरिएको थियोे ।

खजुरा बजार क्षेत्रमै रहेको पेडारी खोलाको निकास साँघुरो भएका कारण ठूलो वर्षा हुनासाथ पानी सडकबाट बग्ने गरेको छ । बाँकेको बैजनाथबाट खजुरा हुँदै बग्ने पेडारी खोलाले वर्षायाममा कटान गर्दै आउने र खजुरा बजार क्षेत्रमा पुगेपछि डुबान गराउने गरेको छ । नेपालगञ्ज–गुलरिया सडकखण्डमा पेडारी खोलामा रहेको साँघुरो पुलको वारीपारी सडकबाट बाढी बग्ने गरेको छ । खोलाको निकास साँघुरो भएपछि सडकबाटै बाढी बगेका कारण लामो समयसम्म सवारी आवागमन ठप्प हुने गरेको छ ।
खोलामा अचानक बाढी आउँदा आवतजावत गर्ने सवारीसाधन र सर्वसाधारण यात्रुले दुःख पाउने गरेका छन् । सामान्य पानी सहजै बग्ने गरे पनि ठूलो बाढी आउँदा पुल साँघुरो भएका कारण खोला भरिएर वारीपारी सडकमाथिबाट खोला बग्ने गरेको छ ।
डुबान क्षेत्रमा अवलोकन गरी तत्काल गर्न सकिने काम, उद्धारतर्फ सम्पूर्ण गाउँपालिकाको टोली लागिपरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताउनुभयो । वैकल्पिक व्यवस्था नभएका कारण नेपालगञ्ज–गुलरिया सडकको पेडारी खोलामा बाढीले लामो समयसम्म सवारीसाधन अवरुद्ध हुने भएपछि गाउँपालिकाकाे ट्याक्टर प्रयाेग गरिएकाे छ ।
