

नेकपा माओवादी केन्द्र बाँकेले पार्टीकी सल्लाहकार तथा प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको निधनले पार्टीलाई अपूरणिय क्षति पुगेको जनाएको छ ।

नेकपा माओवादी केन्द्र बाँकेले जिल्ला पाटी कार्यालय नेपालगन्जमा राखेकाे श्रद्धाञ्जलीसभामा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य मा. कृष्ण केसि (नमुना), केन्द्रिय सदस्य उषा पुन, लुम्बिनी प्रदेश कमिटी सह- सचिव अकल बहादुर बम, जिल्ला संयाेजक नरेन्द्र पाण्डे, जिल्ला सचिव डिल्ली बराल, पाटी कमिटीका विभिन्न तहका नेता तथा कार्यकर्ताको उपस्थिति रहेकाे थियोे ।


बाँके जिल्लाका नेता तथा कार्याकर्ताले पार्टीकी सल्लाहकार स्व . सीता दाहालको फाेटाेमा माल्यार्पण गरेका थिए। प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको असार २७ गते ६९ वर्षको उमेरमा निधन भएको थियो


सीता दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपुरणीय क्षति भएको र उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमा अत्यन्त महत्वपूर्ण र अविस्मरणीय योगदान पुर्याउनुभएको नेता कार्याकर्ताले चर्चा गरेका थिए । सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवम् असिमीत समपर्ण उनका विशेषता हुन् । उहाँ आफ्ना योगदानमार्फत् चीरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहनुहुनेछ ।
वि.सं. २०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आवद्ध उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सल्लाहकार थिइन् ।
पार्टी कामका लागि पञ्चायतीकालमा लामो समय भूमिगत जीवन विताएकी सीता दाहालले देशमा जनयुद्ध सुरुवात भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रिय रहँदै जनयुद्धका आँधीमय वर्षहरूमा सिंगो पार्टीको अभिभावकका रूपमा पार्टीभित्रका चुनौती, संकट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो । पछिल्लोसमय उहाँ पार्किन्सनजस्तो दुर्लभ रोग लगायतका रोगहरूबाट ग्रसित हुँदै आउनुभएको थियो
