
खजुरा गाउपालिकाले आव ०८१/०८२ को बजेट प्रस्तुत गरेको छ । गाउपालिका उपाध्यक्ष मन्जु मल्लले प्रस्तुत गरेको बजेटको पुर्णपाठ यश प्रकार छ:
यस गरिमामय गाउँसभाको १५ औ अधिवेशनको दोस्रो बैठकमा खजुरा गाउँपालिकाको आगामी आर्थिक बर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्न उपस्थित भएको छु । यस अवसरमा म नेपालको समग्र परिवर्तनका लागि भएका जनयुद्ध, जनआन्दोलन,मधेश आन्दोलन र संघर्षको क्रममा जनताको कल्याण र उन्नतीका लागि जीवन समर्पण गर्नुहुने सवै ज्ञात ,अज्ञात सहिदहरुप्रति भावपुर्ण श्रद्धान्जली अर्पण गर्दछु । लोकतन्त्र प्राप्ती तथा गणतन्त्र स्थापनाका क्रममा भएका घाइते ,अपाङ्ग सहिद परिवार,बेपत्ता नागरिक र तिनका परिवारको समेत स्मरण गर्दै परिवर्तनका लागि अग्रणी भुमिका निर्वाह गर्नुहुने व्यक्तित्व र आम जनसमुदायमा हार्दिक सम्मान व्यक्त गर्दछु ।
संघीयता कार्यान्वयका क्रममा स्थानीय सरकार स्थापना भएको खजुरा गाउँपालिकाका अत्यावश्यक कानुन निर्माण,संगठन संरचना र जनशक्ति व्यवस्थापन तर्फ प्रभावकारी रुपमा कार्यसम्पादन गर्दै हामी आफै बनाउँ हाम्रो खजुरा ,आत्मनिर्भर र सम्वृद्ध खजुरा को दीर्घकालीन सोंच पुरा गर्न क्रियाशील रहेको छु ।
तुलनात्मक लाभका क्षेत्रमा लगानीको वातावरण सिर्जना ,सीपमा आधारित दक्ष जनशक्तिको विकास मार्फत युवा उद्दमशीलता प्रवर्दन गरि रोजगारी वृद्दि गर्दै गरिबी न्युनिकरण ,प्राकृतिक स्रोत साधनको दिगो उपयोगबाट हरित अर्थतन्त्रको विकास एवं सामाजिक न्यायमा वितरण प्रणाली कायम गर्दै सुशासन प्रवर्द्धनद्धारा आर्थिक सामाजिक विकास गर्ने तर्फ आगामी बजेट लक्षित हुनेछ ।
विगतका सरकारले गरेका राम्रा कार्यहरुलाई अनुसरण गर्दै निर्माण हुन बांकी रहेका पुर्वाधारहरुलाई हामीले पुरा गर्ने अठोटका साथ बजेट पेश गरेको छु ।
यस आ.व.का लागि प्राप्त बजेटलाई भुगोल ,जनसंख्या र राजश्व संकलनका आधारमा वडाहरुलाइ बजेट सिमा उपलव्ध गराइ बजेट तर्जुमा गरेको छु।
गाउँसभाका सभाध्यक्ष महोदय र सभा सदस्यहरु ,

आर्थिक बर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्नुअघि आर्थिक बर्ष २०८०/८१ को यस खजुरा गाउँपालिकाकाको बजेट कार्यान्वयन र राजश्वको अवस्था प्रस्तुत गर्दछु ।आर्थिक बर्ष २०८०/८१ को आन्तरिक राजश्वको अनुमान रु. ३ करोड गरिएकोमा रु. १ करोड ८७ लाख मात्र संकलन भएको छ ।जुन अनुमानको ८६ प्रतिशत प्रगति हो ।
खजुरा गाउँपालिकाको चालु आ.व.२०८०/८१ मा कुल ८७ करोड ९४ लाख १३ हजार ३ सय १३ कुल विनियोजन भएको मा हाल सम्म ६९ करोड ८३ लाख १५ हजार १ सय ८१ रकम प्राप्ती भएको छ । जुन कुल अनुमानको ७९ प्रतिशत हो । आ.व.२०८०/८१ मा बजेटमा कुल बजेटको ८५ प्रतिशत खर्च हुने संसोधन अनुमान गरिएको छ । यस तर्फ गाउँपालिकाको सम्पुर्ण ध्यान केन्द्रित भएको छ ।
पुँजीगत खर्च अपेक्षाकृत रुपमा बढ्न सकिरहेको छैन । योजनाहरुको पुर्व तयारी र प्राथमिकिकरण नगरि साधन स्रोत विनियोजन गर्दा कार्यान्वयन पक्ष कमजोर रहेको छ ।तसर्थ स्रोत साधनको समुचित परिचालन मार्फत खर्चलाइ उपलव्धिमुलक र नतिजामुलक बनाई समावेशी उच्च दिगो र फराकिलो आर्थिक विकास हासिल गर्ने चुनौती हाम्रो सामु रहेको छ ।
विकासमा जनताको सहभागीता र सहयोग , कृषि क्षेत्रको उत्पादन र उत्पाकत्व वृद्धि, सीप विकास र उद्ममशिलताको विकास गरि उद्ममशिल संस्कृतिको विकास गर्नु व्यवसायीक र प्रविधिमैत्री शिक्षामा जोड लगानीकर्ताहरुको समन्वय ,राजश्व प्रणालीमा सुधार चुहावट नियन्त्रण र करको दायरा विस्तार गरि राजश्व परिचालन वृद्धि गर्नुपर्ने आवश्यकता महसुस गरेको छु ।
चालु आर्थिक बर्षको राजश्व संकलन तथा प्राप्ती गर्ने चुनौती रहेको छ । सिमित स्रोत साधन हुनु जनताको विकास प्रति तिव्र चाहना हुनु आकष्मिक प्रकोप, विपत आउनु भुमिहीन र अव्यवस्थित बसोबास,तिव्र सहरिकरण ,खेति योग्य जमिन भु-खण्डिकरण व्यवसायहरु गाउँपालिकामा दर्ता र सुचिकृत नहुनु ,जस्ता कुराहरुलाइ बजेटका चुनौतीका रुपमा लिएको छु ।
माथि उल्लेखित चुनौती र अवसरलाई मनन गर्दै सरकारी, नीजि ,सहकारी र विकास साझेदारको लगानी विस्तार गरि उत्पादन गरि उत्पादन उत्पादकत्व र रोजगारका अवसर बढाई आर्थिक तथा सामाजिक पुर्वाधार विस्तार गरि विकासको नमुना तयार गर्ने तर्फ जोड दिएको छु । हामी आफै बनाउँ हाम्रो खजुरा ,आत्मनिर्भर र सम्वृद्ध खजुरा को सपना साकार पार्न आगामी आर्थिक बर्ष २०८१/८२ का लागि बजेटका उद्देश्य देहाय बमोजिम रहेको छन् ।
क.कृषि क्षेत्रको यान्त्रिकरण र व्यावसायीकरणका माध्यमबाट उत्पादन र उत्पादकत्व वृद्धि गर्दै बजारीकरण मार्फत कृषि क्षेत्रको प्रवर्दन गर्ने ,
ख.शिक्षा र स्वास्थलाई उच्च प्राथमिकता दिई आम नागरिकको सहज पहुँच वृद्धि गर्दै गुणस्तरिय सामाजिक विकास सुरक्षा र न्याय प्रत्याभुत गर्ने,
ग.आधारभुत पुर्वाधारको विकास र विस्तार गरि पिछडिएको क्षेत्रको आर्थिक सामाजिक रुपान्तरण गर्ने ,
घ.विभिन्न जातजाति,भाषा धर्म,संस्कृति साथै मौलिक र परम्परागत सीप कला र प्राकृतिक स्थलको संरक्षण र विकास गर्ने ,
ङ. सार्वजनिक सेवा प्रवाहको सवलीकरण र सुशासन कायम गर्ने ,
च. लगानी मैत्री वातावरण सिर्जना एवं नीजि ,सहकारी तथा विकास साझेदार समेतको परिचालन मार्फत रोजगारी सिर्जना तथा आय वृद्धिका माध्यमबाट नागरिकको आर्थिक अवस्था सुधार गर्दै गरिबी न्युनिकरण गर्ने ।
नेपालको संविधानले सुनिश्चित गरेको मौलिक हक ,मार्गदर्शन सिद्धान्त तथा राज्यका नीति र प्रदेश सरकारका दिर्घकालिन सोच र नीति कार्यक्रम कार्यान्वयन गर्न प्रस्तावित बजेटमा देहायका प्राथमिकताहरु निर्धारण गरेको छु ।
क. कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि ,
ख.नवप्रवर्तन,आविस्कार र अनसुन्धानमुलक उच्च शिक्षा तथा गुणस्तरिय स्वास्थ्य सेवाको विकास र विस्तार ,
ग.युवा,महिला ,दलित,आदिवासी जनजाती ,लोपोन्मुख ,मुस्लिम पिछडा तथा विपन्न वर्ग लगाएतको सीप विकास तथा रोजगारी सिर्जना ,
घ.गुणस्तरिय दिगो भौतिक पुर्वाधारको विकास ,
ङ.लघु ,घरेलु साना तथा मझौला उद्योगको प्रवर्धन तथा औधोगिक वस्तुको उत्पादन वृद्धि ,
च.कला ,संस्कृति र पुर्वाधारको माध्यमबाट पर्यटन प्रवर्धन ,
छ.वातावरण संरक्षण ,जलवायु परिवर्तन र विपद व्यवस्थापनद्धारा हरित अर्थतन्त्रको विकास ,
ज.सुशासन ,सार्वजनिक सेवा प्रवाह, डिजिटल पालिका र माधव संसाधन विकास ।
गाउँसभाका सभाध्यक्ष महोदय र सभा सदस्यहरु ,
अव यस सम्मानित सभामा आगामी आर्थिक बर्षको बजेटका कार्यक्रम तथा विनियोजन प्रस्तुत गर्दछु
गाउँपालिकाकाले सामाजिक विकास तर्फ रु. ६ करोड ९० लाख रकम विनियोजन गरेको छ । जसमध्ये श्रम प्रति आस्थावान दक्ष सचेत र राष्ट्रप्रति बफादार नागरिक तयार गरि सभ्य समाजको निर्माण गर्न शिक्षा क्षेत्रको विकासलाई पहिलो प्राथमिकता दिइएको छ ।गाउँपालिकाको शिक्षालाई सवल र गुणस्तरिय बनाउन शिक्षा क्षेत्रमा कुल ४ करोड ४० लाख बिनियोजन गरेको छु ।
स्वास्थ नै सवभन्दा ठुलो धन हो स्वास्थ नै सवथोक हो , भन्ने कुरालाइ मनन गर्दै स्वास्थ तर्फका विभिन्न कार्यक्रमहरु संचालन गरिने छ । स्वास्थ तर्फ रु.१ करोड ४ लाख बजेट विनियोजन गरेको छु ।जसमा ब्लड बैंक स्थापनाको लागि पनि रकम विनियोजन गरिएको छ ।
नागरिकलाई खानेपानीको पहुँच विस्तार र स्वच्छ सफा र हराभरा वातावरण निर्माण गर्ने र सरसफाईका सूचक पुरा गर्नु पनि गाउँपालिको मुख्य ध्येय हुने छ ।सो उद्धेश्यलाई पुरा गर्न खानेपानी तथा सरसफाइ तर्फ रु.४० लाख बिनियोजन गरेको छु ।
विभिन्न जातजाति,भाषा ,धर्म संस्कृति साथै मौलिक र परम्परागत सीप,कला र प्राकृतिक स्थलको संरक्षण र विकास गर्ने खजुरा गाउँपालिकाको उद्देश्य रहेको छ ।जसको लागि ८ लाख रकम विनियोजन गरेको छु । साथै खजुरा प्रज्ञा प्रतिष्ठानलाई रु.१० लाख रकम बिनियोजन गरेको छु ।
यस गाउँपालिकाको लैंगिक समानता र सामाजिक समावेशीकरण नीति अनुरुप महिला बालबालिका तथा जेष्ठ नागरिक तर्फका प्रभावकारी र लक्षित वर्ग सम्म नै प्रभाव पार्ने खालका कार्यक्रम तर्जुमा गरिएको छ ।बालमैत्री गाउँपालिका कार्यलाई सफल पार्न महिला बालबालिका तथा जेष्ठ नागरिकका लागि रु.२८ लाख बजेट बिनियोजन गरेको छु ।
सामाजिक सुरक्षालाई थप पारदर्शि र प्रभावकारी बनाउन सामाजिक सुरक्षा सम्वन्धि कार्यलाई समसापेक्ष गुणस्तरियता प्रवर्धन गर्न रु. ९ लाख रकम बिनियोजन गरेको छु ।
युवा हरुलाई खेलकुद प्रति आकर्षित गर्दे खेलकुदलाई पेशामा बदलि जिविकोपार्जन लागि सक्षम बनाउन खेलकुद परिषदलाई क्रियाशिल गराइने छ । खेल क्षेत्रको विकासका लागि युवा तथा खेलकुद तर्फ रु. ३० लाख बिनियोजन गरेको छु ।
आयुवर्दे सेवालाई सवैको पहुँच विस्तार गरि नागरिक आरोग्य सेवा केन्द्रबाट आधारभुत सेवा प्रदान गर्ने तथा समुदायमा आयुर्वेद सेवाको जनचेतना फैलाई स्वास्थ जीवन जिउने पद्दतिको विकास गर्न नागरिक आरोग्य केन्द्रलाइ सक्षम बनाउन र पंचकर्म सेवा विस्तार गर्न कार्यक्रम तर्जुमा गरेको छु । जसको लागि रु.२१ लाख बजेट विनियोजन गरेको छु ।
गाउँसभाका सभाध्यक्ष महोदय र सभा सदस्यहरु ,
अव म आर्थिक विकास तर्फको बजेट प्रस्तुत गर्न गइरहेको छु । आर्थिक विकास तर्फ रु.२ करोड ७५ लाख रकम बिनियोजन गरेको छु ।
कृषि क्षेत्रको यान्त्रिकरण र व्यावसायीकरणका माध्यमबाट उत्पादन र उत्पादकत्व वृद्धि गर्दै बजारिकरण मार्फत कृषि क्षेत्रको प्रवर्दन गर्न कृषि तर्फका कार्यक्रम तर्जुमा गरेको छु । सिँचाई क्षेत्रलाई महत्वपुर्ण क्षेत्रका रुपमा लिइ कृषि क्षेत्रको विकास गर्न कृषि तथा सिँचाई तर्फ रु.९२ लाख रकम बिनियोजन गरेको छु ।
लघु ,घरेलु ,साना तथा मझौला उद्योगको प्रवर्धन तथा औधोगिक वस्तुको उत्पादन वृद्धि गरि सीप विकास र उद्दमशिलताको विकास गरि उद्ममशिल संस्कृतिको विकास गर्न लघु उद्यम तर्फका कार्यक्रम तर्जुमा गरेको छु । जसको लागि लघु उद्यम तर्फ रु. ५३ लाख रकम विनियोजन गरेको छु ।
पर्यटकलाई खजुरामा आकर्षित गर्न विभिन्न ठाँउहरुमा अवलोकन योग्य स्थानहरु र पर्यटक आकर्षण बढाउने कार्यक्रम प्रोत्साहन गर्न कार्यक्रमहरु तर्जुमा गरिएको छ जसको लागि पर्यटन क्षेत्रको विकासको लागि रु. २५ करोड बिनियोजन गरेको छु ।
खजुरा गाउँपालिकाको सहकारी क्षेत्रलाई महत्वपुर्ण क्षेत्रका रुपमा लिई सहकारी विकासका कार्यक्रमहरु संचालन गरिने छ । जसको लागि सहकारी तथा वित्तिय क्षेत्र तर्फ रु. ११ लाख रकम बिनियोजन गरिएको छ ।
पशुपंक्षी विकास क्षेत्रको विकास गर्न पशुपंक्षी कृषकलाई प्रोत्साहन गर्न ,नश्ल सुधार र पशु सुत्केरि भत्ता जस्ता विभिन्न कार्यक्रमहरु तर्जुमा गरिएको छ । जसको लागि पशुपंक्षी विकास तर्फ रु ८२ लाख रकम विनियोजन गरिएको छ ।
भुमि नीति तथा भुमिहिनको व्यवस्थापन र भुमि सम्वन्धि समस्या सामाधान लागि भुमि सम्वन्धि कार्यक्रम तर्जुमा गरिएको छ । जसको लागि रु.१२ लाख रकम विनियोजन गरेको छु।
अव म पुर्वाधार तर्फको बजेट प्रस्तुत गर्न चाहान्छु ।पुर्वाधार तर्फ रु.७ करोड ९६ लाख रकम विनियोजन गरेको छु । गुणस्तरिय दिगो भौतिक पुर्वाधारको विकास गर्न र सडक गुरुयोजना अनुसार सडक यातायात निर्माण गर्न १ करोड ८ लाख रकम विनियोजन गरेको छु ।
विगत आ.व देखि अधुरा योजनाहरुको पुर्णता दिन रु.१२ करोड रकम विनियोजन गरेको छु ।
भवन,आवास र सहरिकरण विकास गर्न रु.३ करोड विनियोजन गरिएको छ ,विशेष गरेर गाउँपालिका भित्र बसपार्क निर्माण गर्न रु. २ करोड रकम विनियोजन गरेको छु ।
उर्जा /विधुतिकरण तथा विधुत उत्पादनका का लागि रु १ करोड २० लाख रकम विनियोजन गरेको छु ।
ह्यमपाइप खरिदका का लागि रु २० लाख रकम विनियोजन गरेको छु ।
परम्परागत धार्मिक संस्कृतिक सम्पदा संरक्षण र प्रवर्द्धनका लागि रु ८ लाख रकम विनियोजन गरेको छु ।
विगत आव.देखि रहदै आएको मर्मत संभार कोषलाइ निरन्तरता दिएको छु । मर्मत संभार कोष लागि रु.40 लाख रकम विनियोजन गरेको छु ।
अव म सुशासन तथा अन्तसम्वन्धित क्षेत्र तर्फको बजेट विनियोजन प्रस्तुत गर्न गइरहेको छु । यस क्षेत्र अन्तर्गत रु.२ करोड ५ लाख ६० हजार रकम विनियोजन गरेको छु । जस अन्तर्गत लक्षित समुदायको उन्नति ,विकास ,प्रवर्द्धन र सीप प्रदान गर्न कार्यक्रमहरु तर्जुमा गरिएको छ । जसको लागि लक्षित वर्ग तर्फ रु.६५ लाख रकम विनियोजन गरेको छु ।
गरिवलाई रोजगार र युवा स्वरोजगारको अवसर प्रदान गर्न अति विपन्नताका आधारमा प्राथमिकिकरण गरि क्षमता विकास र सीपमुलक तालिम दिने कार्यक्रमका लागि रु.१२ लाख रकम विनियोजन गरिएको छ ।
न्यायिक समितिलाई सवल ,सक्षम र प्रभावकारी बनाई सुव्यवस्थित चुस्त , दुरुस्त एवम् मेलमिलापको भरपर्दो माध्यम बनाउन कार्यक्रम तर्जुमा गरिएको छ । जसको लागि न्यायिक समितिमा रु.२५ लाख ६० हजार रकम विनियोजन गरिएको छ ।
रोजगार प्रवर्धन कार्यक्रमका लागि ३८ लाख बजेट विनियोजन गरेको छु ।
राजश्वको क्षेत्रलाई स्वच्छ पारदर्शी र कर क्षेत्रको संस्थागत विकास गर्न कार्यक्रम तर्जुमा गरेको छु । जसका लागि रु.२० लाख रकम विनियोजन गरेको छु ।
सार्वजानिक जवाफदेहिता ,पारदर्शिता र जनउत्तरदायित्व प्रवर्द्धन गर्नका लागि सार्वजानिक सुनुवाई , सार्वजनिक परिक्षण गुनासो व्यवस्थापन ,सूचनाको हक कार्यान्वयन गर्न सुशासनका संयन्त्र प्रयोग गर्न कार्यक्रम तर्जुमा गरिएको छ । जसको लागि रु. ५ लाख रकम विनियोजन गरेको छु ।
वन,वातावरण तथा विपद् व्यवस्थापनका लागि विभिन्न कार्यक्रम तर्जुमा गरिएको छ ।यस क्षेत्र अन्तर्गत रु.१ करोड ३० लाख विनियोजन गरिएको छ । जसका अन्तर्गत वन तथा भु संरक्षण लागि रु. ४ लाख रकम बिनियोजन गरेको छु ।जलवायु परिवर्तन न्युनिकरण कार्यक्रमका लागि आवश्यक बजेट बिनियोजन गरेको छु । फोहरमैला व्यवस्थापन अन्तर्गत कार्यक्रम तर्जुमा गरिएको छ जसका लागि रु. २५ लाख रकम विनियोजन गरेको छु । त्यसै गरि विपद व्यवस्थापन कोष मा थप रु. १ करोड रकम थप गरि विनियोजन गरेको छु ।
गाउँपालिकाको कार्यालय संचालन तथा व्यवस्थापन चालु र पुँजिगत तर्फ रु. १० करोड रकम विनियोजन गरेको छु ।
अव म संस्थागत विकास र क्षमता विकास तर्फको बजेट प्रस्तुत गर्न चाहन्छु ।यस क्षेत्र तर्फ रु.१० लाख हजार रकम विनियोजन गरिएको छ । गाउँपालिकाको डिजिटल प्रोफाइल तयार गरि सेवा प्रवाहलाई विद्युतिय सेवा सँग आवद्ध गरि यस गाउँपालिकालाई स्मार्ट गाउँपालिकाको रुपमा विकास गर्न र सुचना प्रविधि विकास गर्न रु.१५ लाख हजार रकम विनियोजन गरेको छु । कर्मचारी र जनप्रतिनिधीको क्षमता विकास सम्वन्धी कार्यक्रमहरु तर्जुमा गरिएको छ । जसका लागि रु. ५ लाख रकम विनियोजन गरिएको छ । तथा विभिन्न सुचक अभिमुखिकरण कार्यक्रमका लागि ५ लाख रकम विनियोजन गरिएको छ ।
गाउँपालिकाले प्रोत्साहन र सजायको नीति अनुसार अवलम्वन गर्ने छ । ईमान्दार ,कर्तव्यनिष्ठ कर्मचारीलाई प्रोत्साहन र पुरुस्कृतको लागि रु.१ लाख रकम विनियोजन गरेको छु ।
कर्मचारीको र जनप्रतिनिधिको क्षमता विकास गर्ने कुरालाई मध्ये नजर गरि कार्यक्रम तर्जुमा गरेको छु जसका लागि रु.१० लाख रकम विनियोजन गरेको छु ।
लागु पदार्थ नियन्नण गर्नु गाउँपालिकाको कर्तव्य हो । लागु पदार्थ नियन्त्रण र साइवर क्राइम नियन्त्रण गर्ने कार्यक्रमका लागि रु.५ लाख रकम विनियोजन गरेको छु ।
विभिन्न राष्ट्रिय दिवशहरु मनाउन पर्याप्त रकम विनियोजन गरेको छु ।
सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा ब्लड बैंक स्थापना गर्न रु.१० लाख ५० हजार रकम विनियोजन गरेको छु । साथै गाउँपालिका भित्रका क्यान्सर विरामीलाई उपचारमा प्रोत्साहन रकमका लागि रकम विनियोजन गरेको छु ।
खजुरा गाउँपालिकाले संघ , प्रदेश लगाएत साझेदारीमा हुने कार्यक्रम र योजनाका लागि आइपर्ने लागत साझेदारीका लागि आवश्यक रकम रु.७० लाख रकम विनियोजन गरेको छु ।
विधुतिय चुल्हो बैकल्पिक उर्जा अनुदान साझेदारीका लागि १५ लाख रकम विनियोजन गरेको छु ।
संघिय योजना संग साझेदारी गर्न १० लाख ५० हजार रकम विनियोजन गरेको छु ।
गाउँपालिकामा वैकल्पिक उर्जा प्रर्वधन गर्न १ मे.वा. विधुत परियोजना साझेदारीका लागि १ करोड रकम विनियोजन गरेको छु ।
साथै गै.स.सं तथा विकास साझेदार संग साझेदारिमा योजना कार्यक्रम संचालन गर्न २५ लाख रकम विनियोजन गरेको छु ।
गाउँसभाका सभाध्यक्ष महोदय र सभा सदस्यहरु
अव यस सम्मानित सभामा संघीय सरकारबाट प्राप्त योजना /कार्यक्रम प्रस्तुत गर्दछु ।
संघीय सरकारबाट यस गाउँपालिकालाई शिक्षा तर्फ रु.२८ करोड ४६ लाख ४३ हजार रकम प्राप्त भएको छ । जसमा सामुदायिक विद्यालयका छात्राहरुलाई निशुल्क स्यानिटरि प्याड व्यवस्थापनका लागि रु.३१ लाख ६५ हजार रकम विनियोजन गरिएको छ ।
गाउँपालिकाकालाई सशर्त अनुदानका रुपमा कार्यक्रम सहित स्वास्थ र पोषण तर्फ रु.५ करोड २० लाख ३ हजार रकम विनियोजन भएको छ ।
गाउँपालिकाकालाई सशर्त अनुदानका रुपमा कार्यक्रम सहित कृषि तर्फ रु.३९ लाख ७३ हजार रकम विनियोजन गरिएको छ ।
गाउँपालिकाकालाई सशर्त अनुदानका रुपमा प्रधामन्त्री रोजगार कार्यक्रम अन्तर्गत रु.५२ लाख ३१ रकम विनियोजन गरिएको छ ।
गाउँपालिकाकालाई सशर्त अनुदानका रुपमा कार्यक्रम सहित पशु विकास तर्फ रु.२ लाख ९२ हजार रकम विनियोजन गरिएको छ ।
गाउँपालिकाकालाई सशर्त अनुदानका रुपमा कार्यक्रम सहित लघु उद्यम विकास तर्फ रु. १२ लाख रकम विनियोजन गरिएको छ ।
गाउँपालिकाकालाई सशर्त अनुदानका रुपमा कार्यक्रम सहित सम्वृद्धिका लागि वन कार्यक्रम तर्फ रु.५० लाख रकम विनियोजन गरिएको छ ।
खजुरा गाउँपालिकालाई विशेष अनुदानको रुपमा खजुरा गाउँपालिका खाध्य सुरक्षा सुनिश्चित गर्न व्यवसायीक कृषि उत्पादनका लागि रु. ५० लाख रकम विनियोजन गरिएको छ ।
झोलुङ्गे पुल कार्यक्रम अन्तर्गत रु. १० लाख क्रमागत रुपमा रकम विनियोजन गरिएको छ
गाउँपालिका भित्रका विपन्न नागरिकहरुको घर फुसको छानो हटाइ टिनको छानो लगाउने कार्यक्रम अन्तर्गत रु.२८ लाख रकम विनियोजन गरिएको छ ।
सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तर्गत रु.९ लाख रकम विनियोजन गरिएको छ ।
गाउँसभाका सभाध्यक्ष महोदय र सभा सदस्यहरु
अव यस सम्मानित सभामा प्रदेश सरकारबाट प्राप्त योजना कार्यक्रम प्रस्तुत गर्दछु ।
प्रदेश तर्फ सशर्त अनुदान चालु का रुपमा कृषि तर्फ रु.१० लाख रकम कृषि उपज संकलन केन्द्र वडा नं २ मा विनियोजन गरिएको छ ।
प्रदेश सशर्त तर्फ पुँजिगत तर्फ रु. ७० लाख रकम विनियोजन गरिएको छ । जसमा सिमलघारी शिव मन्दिरदेखि हनुमान मन्दिरसम्म सडक कालोपत्रे, खजुरा ७, बाँके रु.२० लाख रकम विनियोजन गरिएको छ । त्यसै गरि डि गाउँ कर्णाली मिल हुँदै भरत केसीको घरसम्म सडक कालोपत्रे, खजुरा ४, बाँके रु.४० लाख रकम त्यसै गरी निसार खाँको गोठदेखि शेषनपुर हुँदै वडा नं. ७ सोनबर्षा जोड्ने बाटो, खजुरा ७, बाँके रु.१० लाख विनियोजन गरिएको छ ।
त्यसै गरि,प्रदेश समपुरक अनुदानका रुपमा खजुरा गाउँपालिका वडा नं.६ सिमलघारीदेखि खानेपानी ट्याङकीसम्मको बाटो कालोपत्रे वडा नं. ६ रु. १ करोड ४० लाख रकम विनियोजन गरिएको छ ।
अव म वडा तर्फ न्युनतम रकम , वडाको जनसंख्या , भुगोल, र राजश्व संकलनको अवस्थालाई हेरि बिनियोजन गरिएको वडामा विनियोजित बजेट प्रस्तुत गर्न चाहन्छु ।
वडा पनि संघीयताको जनताको नजिकको सरकारको इकाई हो सो कुरालाई मध्ये नजर गरि वडा नं १ मा रु. ५१ लाख ८१ हजार ९ सय ८१ र वडा नं २ मा रु.७२ लाख ४३ हजार २ सय ५० र वडा नं ३ मा ६६ लाख ६४ हजार ८३ र वडा नं ४ मा ६० लाख ५ हजार २९ र वडा नं ५ मा ५७ लाख ८७ हजार ३ सय ५३ र वडा नं ६ मा ५९ लाख ७९ हजार ९ सय ५८ र वडा नं ७ म ६७ लाख ३८ हजार ९ सय ८९ र वडा नं ८ मा रु.६३ लाख ५९ हजार ८ सय ५५ रकम विनियोजन गरिएको छ ।
आ.व.२०८१/८२ मा यस गाउँपालिकामा कार्यन्वयन विभिन्न संघ ,संस्थाहरुको बजेट पेश गर्न चाहन्छु । स्वास्थ तथा शिक्षा विकास केन्द्र नेपालगंज १८ बाँके को रु.२७ लाख ९ हजार २ सय ६० ,भेरी बातावरणीय विशिष्टता समुह वि ग्रुपले रु. ६९ लाख ४७ हजार ७ सय त्यसै गरि दलित महिला संघ बांकेले रु. १५ लाख ६५ हजार ६१ त्यसै गरि अपांग सशक्तिकरण एवम संचार केन्द्र नेपालले रु.४३ लाख ०७ हजार त्यसैं गरि जनजागरण नेपाल ले रु.१५ लाख ३७ हजार २ सय ९८ लगाएतका संघ संस्थाको बजेट तथा कार्यक्रम पेश गरेका छन । सो कार्यक्रमहरु यस बजेटमा समावेश गरिएको छ
आ.व.२०८१/८२ मा संघीय सरकार,प्रदेश सरकार र आन्तरिक आय देहाय बमोजिमको रकमको श्रोत अनुमान तथा सीमा निर्धारण समितिले बजेटको परिधिभित्र रही योजना तथा कार्यक्रम तर्जुमा गर्ने जिम्मेवारी तोकिएको थियो । संघीय सरकारबाट सशर्त अनुदान रु.३५ करोड ७० लाख, वित्तिय समानिकरण रु.१४ करोड ९३ लाख ,संघिय राजश्व बांडफांड बाट रु.1२ करोड ४३ लाख, विशेष अनुदानको रुपमा रु. ५० लाख गरि जम्मा रु ६३ करोड ५६ लाख र प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदान रु. ८० लाख ,वित्तिय समानीकरण अनुदान रु.1 करोड ४ लाख ७६ हजार , प्रदेश राजश्व वांडफांड रु.२ करोड ५६ लाख ३८ हजार, प्रदेश समपुरक अनुदान रु.७० करोड, प्रदेश विशेष अनुदान रु.२० लाख गरि जम्मा रु.५ करोड २१ लाख १४ हजार र आन्तरिक राजश्व तर्फ आन्तरिक श्रोत तर्फ रु.३ करोड र अल्या तर्फ रु ११ करोड गरि जम्मा रु.१४ करोड र lisp साझेदार परियोजना रु. ३ करोड ३८ लाख ९६ हजार गरि जम्मा रु.8६ करोड १६ लाख १० हजार को स्रोत परिचालन हुनेछ ।
अन्त्यमा , यो बजेट तथा कार्यक्रम तर्जुमा गर्नका लागि सल्लाह ,सुझाव र परामर्श दिएका सहयोग गर्नुहुने सवै प्रति हार्दिक आभार प्रकट गर्दछु । बजेटका उद्देश्य र प्राथमिकतामा व्यापक छलफल गर्ने राजनीतिक दलका नेताहरु , कार्यापालिका सदस्यहरु ,विषयगत समितिका संयोजक ,गाउँपालिकाका कर्मचारीहरुले दिनुभएको सुझावहरुलाई समेटेर बजेट निर्माण गर्न सहयोग पुर्याउने राष्ट्रसेवक कर्मचारी प्रति आभारी छु । त्यस्तै बजेट तर्जुमा गर्दा सुझाव दिनुहुने नीजि, क्षेत्र ,सहकारी क्षेत्र, नागरिक समाज र सम्पुर्ण खजुरा वासी दिदिबहिनी दाजुभाईहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दै यो बजेट कार्यान्वयनमा सबै पक्षको पुर्ण सहयोग रहने अपेक्षा गरेको छु ।
